पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ । गाउँघरको मुख्य खानाको परिकारका रुपमा रहेको कोदो पछिल्लो समय सहरको आकर्षक खानाको परिकारमा परेको छ । अहिले गाउँमा भन्दा सहरका रेष्टुराँ र होटलमा कोदोको परिकार पाक्ने गरेको छ । निकै झन्झटिलो बालीका रुपमा रहेको कोदोको महत्व पछिल्लो समय बढ्दै गएको पाइन्छ । कुनै दिन गरिबको खानाको रुपमा चिनिएको कोदोको ढिडो अहिले ठूला होटल र घरबासमा समेत रुचाइएको परिकार बनेको छ । आयातित चामलले कृषिमा झन्झटिलो बालीका रुपमा रहेको कोदो विस्तारै लोप हुने अवस्थामा पुगे पनि पछिल्लो समय कोदोको परिकारप्रति नागरिक जागरुक देखिन थालेका छन् । कोदोको परिकारको फाइदाका समेत प्रसस्त भएका कारण पछिल्लो समय खरिद गरेरै भए पनि कोदोको ढिडो, रोटीलगायतका परिकार बनाएर खाने गरिएको छ भने बागलुङका घरबासले कोदोको सेलरोटीलाई प्रमुख आकर्षक खानाका रुपमा प्रस्तुत गरिरहेका छन् ।