कैलालीको टीकापुरस्थित साना सहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन् । खानेपानीको पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको छ दिनहुँजसो पाइप काटिन थालेपछि पानी वितरण अनियमित हुने गरेको छ । नाली र सडक निर्माणका कारण खानेपानीको पाइप काटिने गरेका छन् । बजार क्षेत्रभित्र बन्दै गरेका नालीकै कारण दिनहुँ पाइप काटिने गरेका जनाइएको छ । पानी २४ सैँ घण्टा आउँछ भनेर कतिपय उपभोक्ताले ट्याङ्कीको व्यवस्था गरेका छैनन् । धेरै उपभोक्ताले नल्काको पानी प्रयोग गर्न छाडेका छन् । यसरी नल्काको प्रयोग गर्न छाड्नु र ट्याङ्कीको व्यवस्था नगरेका उपभोक्ता पानी अनियमित भएपछि खानेपानी संस्थाप्रति आक्रोशित हुने गरेका छन् । “खानेपानी अनियमित हुँदा उपभोक्तालाई मर्का पर्छ भन्ने बारेमा खानेपानी संस्थाले ध्यान दिनुपर्छ”, स्थानीय माहन्त साउँदले भन्नुभयो, “पाइप काटिँदा अनियमित र फोहर पानी आउने गरेको छ ।” उहाँले स्वच्छ खानेपानी नियमित वितरण गर्नेबारेमा संस्था जिम्मेवार हुनुपर्छ भन्नुभयो । पानी नियमित भएको र पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको खानेपानी संस्थाले जनाएको छ । “दिनहुँजसो पाइप काटिन्छ, पाइप काटिएपछि काटिएको क्षेत्रमा दुई छाक पानी अवरुद्ध हुन्छ”, खानेपानी संस्थाका प्रमुख चन्द्रप्रकाश सोडारीले भन्नुभयो, “पाइप काटिँदा उपभोक्तालाई समस्या त पर्छ नै संस्थालाई आर्थिक नोक्सान पनि हुने गरेको छ ।”