कैलालीको टीकापुरका गजेन्द्र शाही ९गज्जु० फुटबलका लागि निकै लोकप्रिय नाम हो । सानै उमेरदेखि फुटबल खेलमा निपुण हुँदै जानुभएका उहाँको ऊर्जावान समय खेलकुदमै बित्यो । उहाँले मेयरकपबाट फुटबल खेल सुरुआत गर्नुभएको थियो । तत्कालीन समयमा टीकापुरका लागि मेयर कप निकै महत्वपूर्ण खेलकुद प्रतियोगिताको रुपमा चिनिन्थ्यो । उहाँले फुटबल खेल्दै जाँदा थुप्रै फुटबल प्रतियोगिता खेल्ने अवसर पनि पाउनुभयो । शाहीले ए डिभिजन लिगसम्मको फुटबल यात्रा पु¥याएको बताउँदै सुदूरपश्चिमलाई मेडल जिताउन सफल भएको बताउनुभयो । “२०७१ मा सुदूरपश्चिमबाट राष्ट्रिय लिग खेलेको थिए । मुख्यमन्त्री कपको सुदूरपश्चिमको कप्तनी गर्ने अवसर पनि पाए ।” शाहीले भन्नुभयो, “पाँच वर्षदेखि सुदूरपश्चिमको कप्तानको रुपमा काम गरे । मेरा लागि खेलकुद सुखद् र दुःखद् दुवै रह्यो ।” खप्तड गोल्डकप २०७६ को उपाधि पनि शाहीले कप्तानी गरेको टिमले हात पार्न सफल भएको थियो । उहाँ पहिलेका खेलकुदका गतिविधि हेर्ने हो भने अहिले खेलकुद क्षेत्र स्थानीय क्षेत्रबाट हराउँदै गएकोजस्तो देखिएको बताउनुहुन्छ । टीकापुरलाई चिनाउन खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभएको छ । शाही खेलबाट भविष्य सुनिश्चित नभएकै कारण होटल व्यवसाय सञ्चालन गर्दै पनि आउनुभएको छ ।