वित्तीय कारोबार गर्ने सहकारी संस्था नियमनका लागि छट्टै कानुन निर्माण गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शुक्रबारदेखि दोलखाको सदरमुकाम चरीकोटमा आयोजना गरेको ‘सुशासन प्रवर्द्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक दुईदिने कार्यशाला गोष्ठीमा सहभागीले सहकारी ऐन र नियमावलीले सबैखाले सहकारीका विषयमा व्यवस्था गरे पनि त्यो पर्याप्त नभएकाले वित्तीय कारोबार गर्ने सहकारीका लागि छुट्टै ऐन बनाउनुपर्नेमा जोड दिएका हुन् । स्थानीय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडका वरिष्ठ अधिकृत नवीनराज दाहालले वित्तीय सहकारीमा सुशासन प्रवर्द्धनका लागि छुट्टै वित्तीय सहकारी ऐन आवश्यकता रहेको बताउनुभयो । “एकसय वित्तीय कारोबार गर्ने सहकारी संस्थामा सिद्धान्त परीक्षण गर्दा कुनैले पनि ४० अङ्क ल्याउन सकेनन्, यसैले वित्तीय कारोबार गर्ने सहकारी व्यवस्थापनका लागि छुट्टै कानून आवश्यक छ”, उहाँले भन्नुभयो । वित्तीय कारोबार गर्ने सहकारीमा अहिले पनि प्रष्ट माइन्युट लेख्न नसक्ने, सहकारी ऐनलाई टेकेर विनियम बनाउन नसक्ने जनशक्ति रहेको अनुगमनका क्रममा भेटिने गरेको उहाँले बताउनुभयो । वित्तीय कारोबार गर्ने सहकारीमा स्पष्ट कानुन अभाव र भएका कानुन पनि पालना हुन नसक्दा समस्या आउने गरेको उहाँको भनाइ छ ।