नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न तीन जनाको नाममात्र छनोट गरेको छ । प्रत्यक्षतर्फ कुल एक सय ६५ सिटमध्ये कांग्रेसका एक महिलामात्र निर्वाचित हुनुभएको र सङ्घीय संसद्मा महिला प्रतिनिधित्व ३३ प्रतिशत पु¥याउनुपर्ने संवैधानिक प्रावधानका कारण समानुपातिकमा पुरुष सङ्ख्या कम छनोट गर्नुपरेको हो । कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद हुनेहरूको नाम शनिबार टुङ्गो लगाई निर्वाचन आयोगमा बुझाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलित क्लष्टरबाट जीवन परियार, खसआर्यबाट डा प्रकाशरण महत र मधेसीबाट विमलेन्द्र निधिको नाम टुङ्गो लगाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट एक जना महिलामात्र निर्वाचित हुनुभएको र राष्ट्रियसभा हाल कांग्रेसका दुई महिला सदस्यमात्र रहनुभएकाले समानुपातिकतर्फ २९ जना महिलाको नाम पठाएको पार्टी कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट कांग्रेसले खसआर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईँ, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की र डा प्रकाशशरण महतलाई चयन गरेको छ ।