कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नं १ का ५० बर्षीय कृष्णदत्त पन्तको परिवार २०२२ सालमा बैतडीबाट बसाइँ सरेर यहाँ आयो । यहाँ आउँदा दोधाराचाँदनीको भौगोलिक अवस्था र त्योबेलाको दुःख उहाँलाई अहिले सपना जस्तै लाग्छ । “यहाँ वन फँडानी गरेर बस्ती बसेको थियो”, विगत सम्झिँदै पन्तले भन्नुभयो, “अहिले बस्तीमा आठ लेनको पक्की सडक र छेउमै सुक्खा बन्दरगाह बन्ला बन्ने सोच्न पनि सकेका थिएनौँ ।” महाकाली नदीमा पक्की पुल निर्माणसँगै दोधाराचाँदनीमा सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रसम्म करिब नौ सय मिटर छ लेनको कालोपत्रे सडक बनेपछि यस क्षेत्रको जग्गाको मूल्यसमेत आकासिएको छ । “पहिले बाढी र महेन्द्रनगर जाने स्थलमार्ग नहुँदा यहाँ प्रतिकट्ठा जमिन रु दुई÷तीन लाखमा बिक्री हुन पनि समस्या थियो”, उहाँले भन्नुभयो, “सुक्खा बन्दरगाह बन्ने भएपछि अहिले रु ८० लाखमा प्रतिकट्ठा जमिन बिक्री भइसक्यो ।” पक्की सडकमा पाँच कट्ठा जमिन पर्दा रु ४० लाख मुआब्जा रकम पाउनुभएका पन्तले पछिल्लो विकासले दोधाराचाँदनीको स्वरुप परिर्वतन भएको बताउनुभयो ।