म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न २०औँ अन्तरमावि जेसिजकप फुटबल प्रतियोगिताको उपाधि शारदा मावि छिसबाङले हात पारेको छ । फाइनलमा बेनीको प्रकाश माविलाई एकका विरुद्ध दुई गोल गर्दै मङ्गला गाउँपालिका–५ मा रहेको शारदा माविले पहिलोपटक जेसिजकपको उपाधि जितेको हो । यसै वर्षमात्रै कक्षा १० को पठनपाठन सुरु गरेको शारदा माविले गत वर्षदेखि मात्रै जेसिजकपमा सहभागिता जनाएको थियो । बेनीको खुलामञ्चमा भएको फाइनलको पहिलो हाफमा प्रकाश माविले एक गोल गर्दै शारदा माविलाई दबाबमा राखेको थियो । दोस्रो हाफमा लयमा फर्किएका शारदा माविका खेलाडीले दुई गोल गरी प्रकाश माविलाई एक गोलमै रोकेपछि जेसिजकपको उपाधि चुमेका हुन् । प्रतियोगितामा विजेता शारदा माविका खेलाडीलाई जेसिजकप रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु ५२ हजार दुई सय २२ र उपविजेता प्रकाश माविका खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नगद रु ३२ हजार दुई सय २२ पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष लालमणि भण्डारी, पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दीप खत्री, संस्थापक अध्यक्ष एवं बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायतले विजेता र उपविजेता खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।