अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका उजुरी रहेको अदुअआको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख विजयराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ देखि चालु आवको कात्तिक महिनासम्म स्थानीय तहका एक सय ६३ उजुरी दर्ता भएका छन् । चालु आवको चार महिनामा मात्रै ६७ उजुरी दर्ता भएका हुन् । परेका उजुरीमध्ये ३३ फछ्र्योट भइसकेका छन् भने एक सय ३० फछ्र्योट हुन बाँकी रहेका छन् । यो अवधिमा स्थानीय तहकै शिक्षाअन्तर्गतका ५६ उजुरी दर्ता भएकामा १३ उजुरी फछ्र्योट भइसकेका छन् । ४३ उजुरी फछ्र्योटको प्रक्रियामा रहेका छन् । अदुअआको नेपालगञ्जस्थित कार्यालयमा गत आव २०७८÷७९ देखि चालु आवको कात्तिक महिनासम्म उद्योग, पर्यटन वन तथा वातावरणसम्बन्धी ३०, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणसम्बन्धी २४ र भौतिक पूर्वाधार विकास मन्त्रालयसम्बन्धी १७ उजुरी दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा चालु आवको कात्तिक मसान्तसम्म एक सय ७१ उजुरी दर्ता भएकामा सबैभन्दा बढी बाँकेका ८०, दाङका ५१, बर्दियाका २२ र रोल्पाका १८ उजुरी दर्ता भएका छन् । गत आवमा बाँकेका ८६, दाङका ८५, बर्दियाका ४१ र रोल्पाका १७ रहेका छन् ।