महोत्तरीको सदरमुकाम जलेश्वरमा राणाकालमै स्थापना गरिएको जिल्ला अस्पतालले प्रादेशिक अस्पताल भएसँगै आफ्नो सेवासुविधा प्रभावकारी बनाउन थालेको छ । विगत एक दशकदेखि दक्ष जनशक्ति, औजार उपकरणको कमी, विशेषज्ञ चिकित्सकको अभाव र अन्य स्रोतसाधनको अभावमा समान्य बिरामीलाई समेत अन्यत्र सिफारिस गर्दै आएको जलेश्वर अस्पतालले अहिले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न थालेको छ । एउटा बिरामीका लागि चाहिने प्रत्येक क्षेत्रका डाक्टर, विभिन्न किसिमका जाँचको सुविधा र अधिकांश औषधिसमेत अहिले अस्पतालमा नै पाउन थालेपछि उपचारका लागि जलेश्वर अस्पतालमा पुगेका सेवाग्राही खुसी देखिएका छन् । काठमाडौँको वीर अस्पतालसँगै एकैदिन राणाकालमा जिल्ला अस्पतालका रुपमा स्थापना गरिएको यस प्रादेशिक जलेश्वर अस्पतालका भौतिक संरचना फेरिएका छन् । यस अस्पतालमा ठूलो तीनतले भवन बनाइएको छ । यहाँ विभिन्न अत्याधुनिक उपकरण छन् । बिरामीको चापअनुसार विशेषज्ञ चिकित्सक नहुँदा स्वास्थ्य सेवा लिन समस्या भइरहेका बेला प्रदेश सरकारले करिब दुई महिना पहिले करारमा दक्ष जनशक्ति भर्ना गरेपछि कुनै पनि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने बाध्यता हटेको अस्पतालका प्रमुख डा सतिश साहले बताउनुभयो