पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा सडक विस्तारका कारण यस क्षेत्रकै पुरानो व्यापारिक केन्द्र डुम्रे बजार मासिने अवस्थामा पुगेको छ । सडक विस्तारका कारण डुम्रे बजारका पुराना बासिन्दा विस्थापित हुने र पुरानो बजार मासिने अवस्था रहेको छ । राजमार्ग विस्तारका लागि मुग्लिन–पोखरा सडक विस्तार योजनाले राजमार्ग छेउका घरटहरा हटाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ । योजनामा सम्झौता भएअनुरुप पश्चिम खण्डभन्दा बढी घरटहरा पूर्वी खण्डमा हटाउनुपर्ने रहेको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाले राजमार्गको छेउमा रहेका घरटहरा हटाउन सुचना जारी गरेपछि बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारकी ७५ वर्षीया एकल महिला सरस्वती श्रेष्ठ विस्थापित हुनुपर्ने अवस्थामा पुग्नुभएको छ । “आफ्नो घरमूलीले बनाएको घर छोडेर जान मन छैन । परान यहीँ जाओस् भन्ने थियो । सर्नुपर्ने भएको छ तर, जाने ठाउँ छैन । रोगी छु कसरी घर बनाउने ? गाँसबास उठीबास भएको छ”, उहाँले भन्नुभयो, “हामीजस्ता घर बनाउन नसक्ने लाई सरकारले नै व्यवस्था गरे हुने हो । त्यस्तो गर्दैन ।” आयोजनाले राजमार्ग विस्तारका क्रममा हटाउनुपर्ने भए पनि उहाँको अन्यत्र घर निर्माण गर्नसक्ने अवस्था छैन । “बाटो बढाउने भनेर हामीजस्ता काम गर्न नसक्ने लाई त उठीबास लगायो । पैसा दिएर मात्र के गर्नु आफूले घर बनाउन सक्दिन । खै अर्को ठाउँमा घर बनाउन जन पनि छैन धन पनि छैन । हामी जस्ताको घर कसले बनाइ दिने हो”, सरस्वती भन्नुभयो ।