उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वतीय पर्यटनमा नेपालको प्रचूर सम्भावना रहेको बताउनुभएको छ । विश्वपर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा आयोजित साताँै पर्वतीय महोत्सवको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले पर्वतीय पर्यटनका धेरै सम्भावनालाई अझै पनि अपेक्षित उपयोग गर्न नसकिएको बताउनुभयो । नेपाल प्राकृतिकरुपमा सम्पन्न भएको बताउँदै उहाँले यस्ता सम्पन्नतालाई पर्यटकीयरुपमा उपयोग गर्दै समृद्धि हासिल गर्न सकिनेमा जोड दिनुभयो । प्रकृति र संस्कृतिसँगै विभिन्न जातजाति भाषाभाषीका विविधता हाम्रो सम्पत्ति भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले तिनको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । विश्वका आठ हजारभन्दा बढी उचाइका १४ वटा हिमचुचुरामध्ये सगरमाथासहित आठ वटा नेपालमै पर्छन । उहाँले पर्वतीय पर्यटनका माध्यमबाट यहाँको पर्यटनमा विशिष्ट योगदान हुनसक्ने धारणा राख्नुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रकृति र संस्कृतिका विविधता रहेको नेपाल हिमाल पहाड र तराई गरी भौगोलिक संरचनामा विभक्त भएको बताउनुभयो ।