सर्लाहीका किसान केही वर्षदेखि आफूले लगाइरहेको उखु मासेर तोरी खेतीतर्फ आकर्षित भएका छन् । तीन÷चार वर्षयता जिल्लाको लालबन्दी, हरिवन, बागमती, ईश्वरपुरलगायतका ठाउँका उखु उत्पादक किसानले आफ्नो खेतबारीमा उखु मासेर तोरीसहितको अन्नबाली बढाउँदै लगेका छन् । उखु खेतीमा लगानी गरेर लगानीसमेत नउठेपछि तोरी खेतीतर्फ लागेको हरिवन नगरपालिका–८ का किसान हरि निरौलाले बताउनुभयो । “उखुमा लगानीअनुसारको मूल्य छैन, यताका सबैजसो उखु उत्पादक किसानले अहिले उखु मासेर तोरी, परबल, बोडी, मास, धान, मकै र कोदोजस्ता परम्परागत अन्नबाली लगाउन थालेका छन्”, निरौलाले बताउनुभयो । दुई दशकअघिसम्म तोरी खेतीमा अब्बल मानिने जिल्लामा केही वर्षदेखि उखु खेतीप्रतिको आकर्षण बढेको थियो । तर वर्षभरि लगानी गरेर उत्पादन भएको उखु बिक्री गरेको रकम उद्योगले भुक्तानी नगर्दा दिक्दार भएका जिल्लाका उखु उत्पादक किसान अन्य खेतीतर्फ मोडिएका हुन् । सरकार, उद्योगी र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगीले प्रतिक्विन्टल रु पाँच सय २० र नेपाल सरकारले रु ७० अनुदान रकम दिने सहमति गरिएपनि उद्योगले सहमतिअनुसारको रकम भुक्तानी नगरेकाले आफूहरु उखु छोडेर तोरी, परबल, बोडी, मास, धान, मकै र कोदोजस्ता परम्परागत अन्नबाली लगाउन थालेको हरिवन नगरपालिका–२ का किसान रामपुकार महतोले बताउनुभयो ।