खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताउनुभएको छ । महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायीरुपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गर्नुभयो । “हामीले पटक–पटक पानी पुनः वितरण गर्नु नपरोस्, हामीले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नेछौँ”, उहाँले भन्नुभयो । उहाँले विज्ञहरुको सल्लाह सुझाव लिएर विगतमा पानी बन्द गरिएको र अहिले बर्षात सकिएपछि पानी वितरण गरिएको बताउनुभयो । वाग्मतीको पानी मेलम्चीको ट्रिटमेन्ट प्लान्टमा ल्याएर वितरण गरेको स्मरण गर्दै मन्त्री चौधरीले विकल्पको रुपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोला निरीक्षण गरेर मेलम्चीको विकल्पको रुपमा पानी खान सकिने धारणा राख्नुभएको थियो । त्यसको लागि आफ्नै कार्यकालमा यसको काम अगाडि बढ्ने उहाँको भनाइ थियो ।