काठमाडौँ सहरमै आफ्नो प्रेमीले दिएको पीडा र मानसिक यातना सहन नसकेर पुष्पा न्यौपानेले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गरिन् । नुवाकोट घर भई काठमाडौँको बुद्धनगरमा बस्दै आएकी २७ वर्षीय पुष्पाले काठमाडौँको धुम्रबाराहीस्थित आफ्नो प्रेमीकै घरमा पुगेर यही बुधबार आत्महत्या गरिन् । पुष्पाले दरबारमार्गस्थित केल्मी ब्रान्डका कपडा पसल सञ्चालन गर्दै आएकी थिइन् । काठमाठौँ धुम्बाराही–४ का २९ वर्षीय सुदन सङ्ग्रौलाले त्यही पसलमा आएर कपडा किन्ने गर्थे । गत माघदेखि उनीहरूबीच मोबाइल नम्बर लिएर कुराकानी हुँदै प्रेम सम्बन्ध अघि बढेको थियोे । प्रेमलाई विवाहमा परिणत गर्न दुबै परिवारको सहमतिमा २०७९ भदौ १८ मा टीकाटालासमेत भएको थियोे । टीकाटालापछि विस्तारै सुदनले पुष्पालाई मानसिक तनाव दिँदै आएका थिए पनि पुष्पाले त्यसलाई सामान्यरूपमा लिदै आएकी थिइन् । तर यही मङ्सिर २७ गते सुदनले टीकाटालाको सुन र सुपारी फिर्ता गरेपछिको मानसिक तनाब सहन सकिनन् र सुदनकै घर अगाडि गएर आत्महत्या गरिन् । पुष्पाले परिवारको इज्जतका लागि आफूसँग विवाह गर्न सुदनसँग बारम्बार आग्रह गरेकी थिइन् । तर त्यो सफल नभएपछि अन्ततःउनले आफूमाथि भएको मानसिक यातना सहन नसकेर आत्महत्याको बाटो रोज्न पुगिन् ।