स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको छ । श्रवणकुमारका बुबाआमाको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ । यसअघि विभिन्न सङ्घसंस्थाले आँधीखोलाको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेका थिएनन् । पछिल्लो समय उत्खनन् कार्यले खोलाको सतह घट्दै गएको छ । सहायक खोलाहरुको मुहान सुक्दै जाँदा आँधीखोलाको अस्तित्व सङ्कटमा पर्ने खतरा बढेको हो । बजारका ढलहरु सोझै खोलामा मिसाउँदा प्रदूषण बढ्दै गएको छ । समयमै यसको संरक्षणमा ध्यान जानुपर्नेमा आवाज उठ्न थालेको छ । समयमै ध्यान नदिने हो भने आँधीखोलाको सभ्यता सङ्कटमा पर्नसक्ने भएकाले सरोकारवाला पक्षसहित नागरिकलाई सचेत बनाउँदै चासो दिने बनाउनका लागि नेपाल नदी संरक्षण संस्था, नेपालले वालिङ नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संस्थाका केन्द्रीय अध्यक्ष मेघ आलेले मानव सभ्यतासँग जोडिएको, ऐतिहासिक र पौराणिक महत्व बोकेको आँधीखोला पछिल्लो समयमा दोहनको सिकार बन्दै गएकाले यसको रोकथाम र संरक्षणमा ध्यान दिनका लागि ‘आँधीखोला संरक्षण महाअभियान’ सञ्चालन थालिएको बताउनुभयो । “आँधीखोलामा पहिला पानीमुनी देखिने ढुङ्गा अहिले धेरै माथि आइसकेका छन्, यो जथाभावीरुपमा खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् कार्यबाट निम्तिएको सङ्कट हो” आलेलले भन्नुभयो, “पहिलाजस्तो ढुङ्गा खोलामा देखिँदैनन्, माछा पाइनै छाडे, माछा मारेरै जीवनयापन गर्ने माझी जातीको पेसा लोप भएको छ ।”