सीमा सिल थियो, आवागमन कहिले खुल्ने ? थाहा थिएन । जीविकाको एकमात्र स्रोत डुङ्गा पनि बन्द भएपछि खेदू मल्लाहलाई दुई छाक टार्न धौधौ भएको थियो । खेती गर्ने जग्गा जमिन थिएन । पचपन्न वर्षीय मल्लाहको एउटै चिन्ता मात्र थियो, गुजारा चलाउने कसरी ? स्थायी घर नभई नदी छेउमा टहरा बनाई बसेका पाँच नाबालिकाका बुवा सिरी डोमले पनि कतै श्रीमती गेनासँगै वैकल्पिक रोजगारी पनि पाउनु भएन । भोकभोकै हुनुपरे पनि लालाबालाको पेट पाल्न मागेर गुजारा चलाउन खोजे पनि महामारीको बेला माग्न जाँदा कोरोनाको डरले लालाबाला भोकभोकै हुनुपरेको थियो । जिल्लाको पहिलो कोरोना सङ्क्रमित कृष्ण पासी कोरोनालाई जित्न सफल हुनुभयो तर बिहान–बेलुका छाक टार्न गाह्रो थियो । भारतको दिल्लीमा गार्मेन्ट कम्पनीमा १० वर्षदेखि गर्दै आएको सिलाइकटाइको काम छाडेर आउनुपर्दा बेखर्ची हुनुपरेको थियो । बिरामी आमाको उपचारको भार उहाँमाथि थियो । खेदू मल्लाह, सिरी डोम र कृष्णा पासी त विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रत्यक्ष मार खेप्नुभएका केही प्रतनिधि पात्र हुन् । खासगरी दिनभरि काम गरेर साँझ–बिहान हातमुख जोर्नुपर्ने अवस्थाका न्यून आयस्तरका मानिसलाई निकै समस्या थियो । धेरैको रोजगारी गुमेको थियो भने उद्योगी व्यवसायी पनि नराम्ररी प्रभावित बनेका थिए । मर्चवारी गाउँपालिकाबाट वैदेशिक रोजगारीमा गएका झण्डै एक हजार सात सय युवा घर फर्किएका थिए भने सम्मरीमाई गाउँपालिकामा आठ सय २५ जना पनि रोजगारी गुमेपछि गाउँ फर्किएका थिए ।