ताप्लेजुङ सिरिजङ्गा गाउँपालिका—५ मामाङ्खेका सुने लिम्बू निकै व्यस्तता बढेको छ । उहाँ येवा तथा फेदाङवा (लिम्बू समुदायको पुजारी) हुनुहुन्छ । किसानहरूले अन्नबाली घर भित्र्याएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी)लाई देवतालाई चडाउनमा लिम्बूको व्यस्तता बढेको हो । किराँत समुदायले खेतीपाती गरेको अन्नबाली घर भित्र्याएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कूल देवतालाई चडाउने परम्पार रहिआएको छ । किराँत समुदायले अन्नबाली मङ्सिर पूर्णीमा अगाडि नै घर भित्र्याइसकेको हुन्छ । फक्ताल्ङग गाउँपालिका—६ का नेत्रप्रसाद लिम्बूले गत साता खेतबारीमा लगाएको अन्नबाली घर भित्र्ययाई सक्नुभयो । खेतबारीमा पाकेको अन्न बाली घर भित्र्याउन एक महिना लाग्यो । कूल देवतालाई न्वागी चडाउनको लागि भने मङ्सिरको पहिलो सातामा सब्रेका (ठूला—ठूला कोदो बाला) टिपेर चोखो परी जाँड बनाउनुभयो । उहाँले आज बिजुवा(पुजारी) घर बोलाएर कूल देवतालाई चडाउने तयारीमा हुनुहुन्छ । वर्षमा पाकेको कोदोलाई जाँड बनाएर देवतालाई न्वागी चडाउनलाई लिम्बू समुदायमा थिसोक भनिन्छ । नेत्रप्रसाद लिम्बू एक प्रतिनिधि मात्र हो । किराँत समुदायका प्रत्येक घरमा एक वर्ष पहिलो पाकेको अन्नलाई कुल देवतालाई चडाएर मात्र आफ्लाई अन्नको उपभोग गर्दै आएको मेरिङदेन गाउँपालिका—४ का विमना लिम्बूले बताउनुभयो । मङ्सिर पूर्णीमाको दिनदेखि पहिलो पाकेको बालीको विभिन्न परिकार बनाएर कूल देवतालाई चडाउने परम्परालाई चासेका तङ्नामको रूपमा लिएको फक्ताङलुङ गाउँपालिका—६ का सन्तकुमार लिम्बूले बताउनुभयो ।