७९ मंसिर २१ काठमाडौ ।
सिन्धुलीका किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो । यस जिल्लामा धेरै स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ । अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् । सिन्धुली जिल्ला कमलामाई ४ सातपत्रेमा वर्षौँदेखि तोरीखेती लगाउँदै आउनुभएका सुर्य बहादुर थापाले घरमा वर्षभरि खान र बेच्न पनि पुग्ने गरी तोरी लगाएको बताउनुभयो । “दुई–तीन वर्षदेखि गाउँघरमा पनि तोरीको माग बढेको छ”, उहाँले भन्नुभयो, “घरका लागि पनि स्वस्थ तेल प्रयोगका लागि बर्सेनि खेती गरेकामा केही वर्षदेखि गाउँघरमै बिक्रीका लागि पनि धेरै लगाउने गरेका छौ।” कुखुराको मल गाईबस्तुको मल प्रयोग गर्न थालेपछि तोरी राम्रो हुन थालेको उहाँको भनाइ छ । तर तोरीखेतीका लागि किसान आकर्षित भइरहँदा चुनौती र समस्या उत्तिकै रहेको गुनासो कायमै छ । बाली लगाउने सुरुआती दिनदेखि नै मल नपाएका किसान तोरी लगाउँदा समयमा मल उपलब्ध नहुनु नै मुख्य समस्याको रूपमा देखापरेको बताउँछन् ।
सरकारले मल आएको छ भने पनि समयमा मल नपाएको कृषक सुर्य बहादुर थापा ले गुनासो गर्नुभयो । “अहिले तोरीको बजार खोज्नु नै पर्दैन, घरैबाट बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “खेती लगाउँदा मल नपाउने समस्याले कृषकलाई सधैँ पिरोल्ने गरेको छ ।” धान रोप्ने समयमा मल नपाएका किसानले तोरी लगाउँदा पनि मलको अभाव झेलिरहेका छन् । सिन्धुली जिल्लामा धेरै ठाउँमा तोरी बाली लगाइएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ। तर कति हेक्टरमा लगाईएको छ त्यो चाहिँ खुलाएको छैन। “तोरी बाली लगाउन पनि सजिलो, खासै दुःख पनि नहुने भएकाले दुई वर्षदेखि जिल्लामा तोरीखोती फस्टाएको छ”, उहाँले भन्नुभयो, “तोरीखेती बढ्नुको मुख्य कुरा भनेको मूल्य बढ्दै जानु र बजारमा आएका तेलमा मिसावट भएका कारणले जिल्लामा तोरीखेती गर्नेतर्फ किसानको आकर्षण बढ्दै गएको हो ।” पछिल्ला वर्षमा तोरीको भाउ किसानले राम्रै पाउन थालेका छन् । गाउँघरमा अहिले प्रतिक्विन्टल तोरीको मूल्य ११ हजारसम्म पर्ने गरेको छ । ८० देखि ९० दिनमा तोरीखेती तयार हुन्छ । आफैँले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलका रूपमा प्रयोग गर्न पाइने भएकाले पनि किसान तोरीखेतीप्रति आकर्षित हुँदै गएका जनाइएको छ ।