म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा रु नौ करोड बजेट विनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ । नगरपालिकाले महत्व र प्राथमिकता दिएका पाँचवटा सडक, तीनवटा खानेपानी, एक–एक भवन, खेलमैदान र चिस्यानगृह निर्माण गर्न विभिन्न शीर्षकबाट रु नौ करोड एक लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख इञ्जीनियर बिमलरञ्जन कार्कीले सातवटा ठूला योजनाको ठेक्का लागिसकेको बताउनुभयो । “ठेक्काबाट दुईवटा योजना निर्माण सुरु भइसकेका र पाँचवटा सुरु हुने तयारीमा छन्”, उहाँले भन्नुभयो, “तीनवटा योजनाको ठेक्का आह्वान भएको छ । एउटाको लागत अनुमान तयार गरेर ठेक्का प्रक्रियामा लैजाने तयारीमा छौँ ” नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको बेनी–पाखापानी सडकअन्तर्गत वडा नं ६ अर्थुङ्गेबाट वडा नं ९ को सिमानासम्मको सडक ढलान, नाली, घुम्ती र ग्रेड सुधार गर्न कृसु निर्माण सेवा काठमाडौँले रु ६६ लाख ९३ हजार तीन सय ९१ मा ठेक्का पाएको छ ।