आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज भएको खेलमा नेपाल आयोजक नामिबियासँग ८६ रनले पराजित भएको हो । नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव ५ ओभरमा १८९ रनमा समेटियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४४ बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए भने ज्ञानेन्द्र मल्लले ३० रन जोडे । अर्जुन साउद २९ रनमा आउट भए । आरिफ शेखले १८ रन तथा ललित राजवंशीले ११ रन बनाए । आसिफ शेखले ७ रन जोडे । नामिबियाका लागि टाँगेनी लुङ्गामेनी, जेजे स्मिथ र नफिदी या फ्रान्सले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको थियोे । नामिबियाका लागि मिचेल भान लिङ्गेनले सर्वाधिक ११९ रनको योगदान दिए । उनले १११ बलमा १५ चौका र १ छक्काको मद्दतमा ११९ रन बनाएका हुन् । त्यस्तै कप्तान जेरहार्ड इरासमले ७६ बलमा एक चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । जान निकोल लोफ्टी एटनले ३२ बलमा ४ चौका र एक छक्काको सहयोगमा ४० रन बनाए । लो हान्ड्रे लोउरेन्सले १४ रन बनाउँदा तथा डिभान ला कुक १८ रन जोडे ।