मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा विजयी हुनुभएका भक्तपुरका जनप्रतिनिधिले अबको पाँच वर्षमा भक्तपुरलाई विकासमा नमूनाको जिल्ला बनाउने घोषणा गर्नुभएको छ । आज राष्ट्रिय सञ्चार केन्द्र भक्तपुरले मधयपुरथिमि राधेराधेमा आयोजना गरेको अबको पाँच वर्षमा भक्तपुरलाई कस्तो बनाउने भन्ने विषयमा प्रतिनिधिसभा तथा प्रदेशसभामा नवनिर्वाचित सदस्य र पत्रकारहरुबीच अन्तक्र्रिया कार्यक्रममा यस्तो घोषणा गरिएको हो । कार्यक्रममा भक्तपुर क्षेत्र नं २ बाट निर्वाचत प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले चुनावसँगै राजनीतिक प्रतिस्पर्धा सकिएको भन्दै आफ्ना प्रतिस्पर्धी तथा अघिल्ला कार्यकालका सांसदको अनुभवलाई पनि ग्रहण गरेर विकासलाई अगाडि बढाउने बताउनुभयो । उहाँले संविधानले परिकल्पना गरेको तीनै तहको सरकारको अधिकार क्षेत्रलाई सम्मान गर्दै आफूले बाँकी रहेका ऐन, नीति निर्माणमा लाग्ने र विकासलाई नयाँ मोडालिटीमा लगेर भक्तपुरलाई नमूना बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका नाममा कति उल्टो कामहरू भएका छन्, हनुमन्ते करिडोरको नाममा कतिपयलाई सुकुम्बासी बनाउने काम भएको छ । करिब छ सय वर्षअघिको भक्तपुरलाई अहिलेको भक्तपुरसँग दाँजेर हेर्दा हामी विकासको उल्टो गतिमा अघि बढिरहेको अनुभूति भइरहेको छ, त्यसैले अबको पाँच वर्षमा बिग्रिएका धेरै कामलाई सही मार्गमा ल्याउँदै भक्तपुरलाई नमूना बनाउँछौँ ।”