चीनका राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब आइपुग्नुभएको छ । भ्रमण बिशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित हुने सम्भावना रहेको छ । सीको भ्रमण संयुक्त राज्य अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो । व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन अमेरिकाबीचको सम्बन्धमा विगत केही समयदेखि तनावपूर्ण रहँदै आएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रका नेताका रुपमा चिनिएका सी तीन दिने भ्रमणका लागि राजधानी रियाद आइपुग्नुभएको हो । रियादमा उहाँको न्यानो स्वागतको अपेक्षा चीनले गरेको छ । राष्ट्रपति सीको भ्रमणको बिषयलाई साउदी सञ्चारमाध्यमले विशेष महत्व दिएर प्रकाशन गरेका छन् । कच्चा तेलको प्रमुख निर्यातक साउदी अरब र चीन (दुवै पक्ष) कोभिड र युक्रेन युद्धका कारण देखिएको विश्वव्यापी आर्थिक उथलपुथल साथै भूराजनीतिक पुनःमिलनको समयमा आफ्नो सम्बन्ध विस्तार गर्न उत्सुक देखिन्छन् । कोरोना भाइरस महामारी सुरु भएयता सीको यो तेस्रो विदेश यात्रा हो । सन् २०१६ पछि उहाँको पहिलो साउदी अरब भ्रमण जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडनको भ्रमणपछि भएको हो । सम्मेलनमा साउदी अरबका राजा सलमान र युवराज मोहम्मद बिन सलमानसँग द्विपक्षीय भेटवार्ताका साथै छ सदस्यीय गल्फ को–अपरेशन काउन्सिलसँग शिखर सम्मेलन र व्यापक चीन–अरब शिखर सम्मेलन हुनेछ ।