प्याज आयातमा सरकारले बर्सेनि करिब रु पाँच अर्बभन्दा बढी रकम खर्च गर्ने गरेको छ । नेपालमा भारत, चीन, बङ्गलादेशलगायतका मुलुकबाट प्याज आयात हुने गर्दछ । तीमध्ये सबैभन्दा बढी प्याज नेपालले भारतबाट आयात गर्दछ । भारतबाट मात्रै करिब ९० प्रतिशत प्याज नेपाल आउने गरेको जनाएको छ । कोरोना महामारीको समयमा भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको अभाव चर्किएको थियो । स्वदेशमै प्याज उत्पादन गरी आयातमा रोक लगाउन कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अनुदान कार्यक्रम ल्याएको छ । नगरपालिकाले प्याजको बीउमा ५० प्रतिशत अनुदान दिएर नगरभित्रका सबै कृषकलाई वितरण गर्न थालेको छ । प्याजको आयात रोक्न र नगरमै कृषकलाई आत्मनिर्भर बनाउन प्याजमा अनुदान दिइएको नगरपालिकाका प्रमुख हेमराज ओझाले बताउनुभयो । उहाँले प्याजलाई व्यवसायीकरण गरी कृषकलाई स्वरोजगार दिलाउन पनि बीउ वितरण गरिरहेको बताउनुभयो । “अहिले हामीले बीउमात्रै अनुदानमा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “आगामी वर्षदेखि यसलाई बृहत्रूपमा व्यवसायीकरण गर्न खोजिरहेका छौँ । जसमा कृषकले समूह बनाए थप अनुदान पाउनुहुनेछ ।” उहाँले अनुदानमा बीउ लगेर आफू खानलाई मात्रै नभई व्यवसायीकरण गरी आयआर्जनका लागि पनि उमार्न कृषकलाई आग्रह गर्नुभयो । “नगरलाई प्याजमा आत्मनिर्भर बनाउन त्यसलाई व्यावसायिकरूपमा अगाडि बढाएमात्रै सम्भव छ”, उहाँले भन्नुभयो, “त्यसैले आफ्नो आर्थिक स्रोत पनि बनाउने किसिमले प्याजको उत्पादन गर्नुहोला, व्यावसायिकरूपमा भए भोलिका दिनमा थप अनुदानका कार्यक्रम प्राप्त गर्न सक्नुहुनेछ ।” उहाँले नगरपालिकाले प्याजसहित च्याउ, गहुँ, धानलगायतका कृषि उत्पादनका लागि पनि अनुदान दिएको बताउनुभयो ।