७९ मंसिर २० काठमाडौ ।
हिमाली क्षेत्रको अवलोकन गर्ने आन्तरिक एवं बाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिन यहाँका पर्यटन व्यवसायीले प्रतिबद्धता जनाएका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घको तेस्रो जिल्ला अधिवेशनका क्रममा उनीहरुले पर्यटकीय होटललाई व्यवस्थित एवं मर्यादितरूपले सञ्चालनमा ल्याई आगन्तुक पाहुनालाई गुणस्तरीय सेवामा एकरूपता ल्याउने दृढ सङ्कल्प गरेका हुन् । जाडोको याममा हिमपातसमेत हुने भएकाले होटलमा सिरकको सङ्ख्या बढाउने, कोठामा हिटरको व्यवस्थापन गर्ने, खाना खाने स्थानमा सुधारिएको चुलोमार्फत तातोको व्यवस्था मिलाउने कार्यसमेत अगाडि बढाउने जनाइएको छ । कोठामा तातोपानीको व्यवस्थापन गर्नेे तथा रैथाने जातका सागसब्जीको मात्र तरकारी खुवाउनेजस्ता विविध सेवामूलक विषयमा छलफल एवं सहमति भएको सङ्घले जनाएको छ । अधिवेशनले रामशरण गजुरेलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन समेत गरेको छ । कार्यसमितिको उपाध्यक्षमा धनकुमारी तामाङ, सचिवमा फुर्पुसिङ्गी तामाङ, सहसचिवमा विशाल घले, कोषाध्यक्षमा बुद्वलक्ष्मी तामाङ निर्विरोध चयन हुनुभएको छ । सदस्यमा छविलाल पौडेल (राम), सन्तोष तामाङ र सुनिता तामाङ, सञ्जीव उप्रेती, पवित्रा भट्ट र छेतेन ग्याल्पो तामाङ रहनुभएको छ