जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु¥याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अनुसार नगरपालिकाभित्र बसोबास गरेर उच्च शिक्षा हासिल गर्ने विपन्न वर्गका विद्यार्थीलाई सार्बजनिक यातायातमा निःशुल्क गरिएको हो । यसका लागि यातायात व्यवसायीसँग सम्झौता भई कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो । अहिले पालिकाले विपन्न वर्गका विद्यार्थीका लागि आर्थिक अभावका कारण शिक्षाको पहुँचबाट वञ्चित बन्नु नपरोस् भनेर यो कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो । माडी क्याम्पस वसन्तपुर, दिवाकर स्मृति बहुप्राविधिक विद्यालय र दश जोड दुई सञ्चालनमा आएका चार वटा माध्यमिक विद्यालयमा अध्ययनरत छ सय हाराहारी विद्यार्थी यो निर्णयबाट लाभान्वित बनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निःशुल्क यातायात सेवाका लागि वडा र पालिकाले रु १४ लाख बजेट विनियोजन गरेको छ ।” पालिकामार्फत यातायात छुट कार्ड वितरण गरेर सुविधा प्रदान गरिएको हो । यही मङ्सिर १५ गतेबाट सेवा सञ्चालनमा आएको हो । यो निर्णयबाट वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिसमेत लाभान्वित बन्ने छन् । वृद्धवृद्धालाई यातायतामा ५० प्रतिशत र अपाङ्गता भएका व्यक्तिलाई शतप्रतिशत छुट दिने निर्णय भएको छ । उहाँले भन्नुभयो, “कार्यपालिका बैठकले लक्षित वर्ग यातायात सहुलियतसम्बन्धी कार्यविधि, २०७९ पारित गरी कार्यक्रम लागू गरेको हो ।” सार्वजनिक यातायातको पहुँच नपुग्ने विद्यार्थीलाई साइकलको व्यवस्था गर्ने तयारी गरिएको पालिकाले जनाएको छ । ढकालका अनुसार हनुमानझुलाका विद्यार्थीले साइकल प्राप्त गर्ने छन् । माध्यमिक शिक्षा अध्ययनका लागि पालिकाले चारवटा विद्यालयलाई यसअघिनै स्कूल बस प्रदान गरेको थियो । माडी नगरपालिकाभित्र भएका शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीले सहुलियत पाउने छन् । घरबाट दश जोड दुई र क्याम्पसमा सार्वजनिक बसमा यात्रा गर्ने विद्यार्थीले यो सुविधा प्रयोग गर्न पाएका हुन् । उपचार कोष रत्ननगर नगरपालिकाले विपन्न नागरिकका लागि उपचार कोष स्थापना गरेको छ । नगरपालिकाभित्र बसोबास गर्ने नगरवासीका लागि रु ३० लाखको उपचार कोष स्थापना गरेको हो । बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने गरी कोष स्थापना गरिएको हो । कोषको आइतबार औपचारिक शुभारम्भ गरिएको छ । कोषको शुभारम्भसँगै अस्पतालमा सहायता कक्षा स्थापना गरी काम सुरु गरिएको छ । नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले कोष सञ्चालनको लागि कार्यविधि बनाइएको बताउनुभयो ।