ईश्वरी पुरी उमेरले ९० वर्ष पुग्नुभयो । उहाँको कर्म देख्दा भर्खरकै हुनुहुन्छ जस्तो लाग्छ । जीवनरुपी दियो निभ्ने बेला भो तर उहाँले अखण्ड धुनी निभ्न नदिई निरन्तररुपमा बाल्दै आउनुभएको छ । स्याङ्जाको वालिङ–८ काफलडाँडामा करिब दुई सय ५० वर्ष पहिलादेखि अखण्ड धुनी गरिँदै आएको छ । २०–२२ वर्षको उमेरमा सन्यासी भई यस ठाउँमा आउँदा पनि यस्तै धुनी भइरहेको देखेको उहाँ बताउनुहुन्छ । सुरुमा यहाँ महन्त तथा शिष्यहरु धेरै थिए । समूह ठूलो थियो । गुठीका नाममा रहेको खेतबारी कमाई गर्ने, खरबारीमा घाँस काट्ने र गाईभैँसी पाल्ने काम हुन्थ्यो । अहिले भने उहाँ एक्लैले धुनी अखण्डरुपमा बाल्दै आइरहनुभएको छ । सक्ने हुँदा, उमेर छँदा वनमा गएर मुढा तथा दाउरा काटेर ल्याई धुनी बाल्नुहुन्थ्यो । आजभोलि उमेर बढ्दै जाँदा शरीरले साथ दिन छोड्दै गयो । धुनी अखण्डरुपमा बाल्दै त आउनुभएको छ । “उमेर हुँदासम्म शरीरले सक्दासम्म त वनमा गएर मुढा काटेर ल्याएर पनि धुनी जलाइरहेँ”, उहाँले भन्नुभयो, “उमेरले नेटो काटिसक्यो, अब पहिलाजस्तो सकिन्न धुनी वरपरकै रूखहरु काटेर निरन्तरता दिँदै आएकी छु ।”