७९ मंसिर १५ काठमाडौ नेपाल ।
गुजरात राज्यको विधानसभाका लागि भएको निर्वाचनको पहिलो चरणको मतदान बिहीबार सम्पन्न भएको छ । अपराह्न ३ बजेसम्म झण्डै ५० प्रतिशतको हाराहारी अर्थात् कूल ४८.४८ प्रतिशत मतदाताले मतदान गरेका छन् । कच्छ, सौराष्ट्र र दक्षिण गुजरातका १९ जिल्लाका ८९ निर्वाचन क्षेत्रमा बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु भएको थियो । निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्मको तथ्याङ्कअनुसार तापीमा सबैभन्दा बढी ६४.२७ प्रतिशत मतदान भएको छ भने नर्मदामा ६३.८८ प्रतिशत मतदान भएको छ भने जामनगरमा सबैभन्दा कम ४२.२६ प्रतिशत मतदान भएको छ । यहाँ बिहीबार कूल दुई करोड ३९ लाख ७६ हजार ६७० मतदाता साँझ ५ बजेसम्म मतदान गर्नेछन् र पहिलो चरणको निर्वाचनमा ७ सय ८८ उम्मेदवारको भाग्यको फैसला गर्नेछन् । गुजरातका कूल मतदातामध्ये एक करोड २४ लाख ३३ हजार ३६२ पुरुष, एक करोड १५ लाख ४२ हजार ८११ महिला र ४९७ तेस्रो लिंगी रहेका छन् । मतदानका लागि ८० बर्षभन्दा बढी उमेर समूहका करिब नौ लाख ८० हजार नागरिक सहभागी हुनसक्नेछन् भने १०० बर्षभन्दा बढीका करिब १० हजार मतदाता रहेका बताइएको छ । आयोगका अनुसार १८ देखि १९ वर्ष उमेर समूहका पाँच लाख ७४ हजार ५६० मतदाता छन् भने ९९ वर्षमाथिका चार हजार ९४५ मतदाता छन् ।