अर्घाखाँचीको अर्घा जुन गाउँ नेता उत्पादन गर्ने स्थानको रुपमा चिनिन्छ । जहाँबाट २०४८ सालयता लगातार सांसद पाउँदै आएको छ । पछिल्लो ३१ वर्षमा सन्धिखर्क नगरपालिका-९ मा पर्ने अर्घामा जन्मिएका र स्थायी घर भएकाले मात्रै निर्वाचन जित्दै समेत आउनु भएको छन । अर्घामा यसपटकको निर्वाचनमा समेत दुईजना निर्वाचित हुनुभएको छ । अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका टोपबहादुर रायमाझी र प्रदेशसभा– १ मा विजयी हुनुभएका चेतनारायण आचार्य दुवै अर्घा गाउँका बासिन्दा हुनुहुन्छ । अहिलेको निर्वाचनमा समेत यस गाउँबाट चार जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचित टोपबहादुर रायमाझी, उपविजेता नेपाली कांग्रेसका नेता एवम् पूर्व उपसभामुख पुष्पा भुसाल मात्र होइन प्रदेशसभा १ मा विजयी बन्नु भएका एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र स्वतन्त्रबाट मनोनयन गरेका वसन्त केसी चार जना यसै गाउँका हुनुहुन्छ । जिल्लामा २०४८ देखि ७९ सम्म भएका निर्वाचनमा अर्घाबाटै सांसद चुनिनु भएका छन् । अर्घाकै रेवतीप्रसाद भुसाल कांग्रेसबाट २०४८ र २०५१ मा सांसदमा निर्वाचित भएर पर्यटन राज्यमन्त्री बन्नु भएको थियो । २०५६ सालमा राष्ट्रिय जनमोर्चाबाट डिलाराम आचार्य निर्वाचित हुनुभएको थियो । उहाँ अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिव हुनुहुन्छ । पञ्चायतकालमा रेवतीप्रसादका पिता नारायणप्रसाद भुसाल २०१९ देखि २०२८ सालसम्म लगातार चार पटक चुनाव जितेर जिल्ला पञ्चायत सदस्य हुनुभएको थियो । सांसद मात्र होइन सन्धिखर्क नगरपालिकाको संस्थापक नगर उपप्रमुख ठाकुरकुमार विक र वर्तमान उपप्रमुख मिश्रा आचार्य दुवै साविक अर्घा गाविसका हुनुहुन्छु ।