बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यसपटकको निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित पाण्डे यसपटक नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो । गत निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भई प्रदेश नं १ को मुख्यमन्त्रीसमेत भइसक्नुभएका भीमप्रसाद आचार्य यसपटक सुनसरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ । विसं २०७४ निर्वाचनमा कालिकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका महेन्द्रबहादुर शाही यसपटकको निर्वाचनमा कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । शाही कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री हुनुभएको थियो । गत निर्वाचनमा लमजुङबाट प्रदेशसभा सदस्य निर्वाचित भई गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत बन्नुभएको पृथ्वी सुब्बा गुरुङ यसपटक भने प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बन्नुभएको थियो । विसं २०७४ को संसदीय निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका विराजभक्त श्रेष्ठ यसपटकको निर्वाचनमा काठमाडौँ ८ बाट सांसद पदमा विजयी हुनुभएको छ । गत निर्वाचनमा विवेकशील साझा पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएका श्रेष्ठ यसपटक स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।