नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ । ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा मात्रै सौर्य ऊर्जा खरिद गर्ने तयारी गरेको हो । प्राधिकरणले एक सूचनामार्फत् प्रतिस्पर्धामा सहभागी हुन व्यवसायीलाई आग्रह गरेको छ । प्राधिकरणले सोमबार प्रकाशित गरेको सूचनाअनुसार कम्पनीका आवेदन आगामी फागुन १४ गते खोलिनेछ । हाल प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसामा सौर्य बिजुली खरिद गर्दै आएको छ । प्रस्तावित व्यवस्था अनुसार अब प्राधिकरणले प्रतियुनिट पाँच रुपैयाँ ९४ पैसामा खरिद गर्नेछ । यो अधिकतम महसुल दर हो । प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङका अनुसार खुल्ला प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्न लागिएको हो । हिउँदमा नदीमा जलसतह घट्ने र उत्पादन कम हुने भएकाले त्यसको विकल्पमा सरकारले ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको भए पनि प्रभावकारी काम हुनसकेको छैन । सौर्य ऊर्जामा लगानीकर्तालाई आर्कषित गर्ने लक्ष्यका साथ प्रतिस्पर्धाका माध्यमबाट खरिद गर्न लागिएको हो । विद्युत् विकास विभागका लागि हालसम्म कूल ४४ सौर्य परियोजनाले सर्वेक्षणको अनुमति लिएका छन् । ती आयोजनाको क्षमता एक हजार दुई सय ३९ मेगावाट छन् ।