बागलुङबाट नवनिर्वाचित चारवटै गण्डकी प्रदेशसभा सदस्यले प्रदेश सरकार बलियो बनाउन आफूहरुले समृद्धिका योजना ल्याएको बताउनुभएको छ । लोकतान्त्रिक वाम-गठबन्धनको सर्मथनमा नेपाली कांग्रेसबाट निर्वाचित उहाँहरुले प्रदेश सरकार खर्चिलो, औचित्यहीन र खारेजीको माग पनि सुनिएको भन्दै प्रदेश सरकारलाई सक्षम बनाउन आवश्यक रहेको बताउनुभएको छ । गण्डकी प्रदेशमा बागलुङका चार प्रदेश क्षेत्रबाट क्रमशः दीपेन्द्रबहादुर थापा, डिल्लीराम सुवेदी, जीत शेरचन र दोर्ण कुँवर विजयी हुनुभएको छ । विजयी प्रदेशसभा सदस्यहरुले सक्षम र समृद्ध प्रदेश सरकार बनाउन आवश्यक रहेको बताउँदै सङ्घ र स्थानीय तहको पुलका रुपमा काम गर्ने योजना बनाएको सुनाउनुभयो । बागलुङ क्षेत्र नं २ प्रदेशसभा (१) बाट निर्वाचित प्रदेशसभा सदस्य शेरचनले प्रदेश सरकारलाई सक्षम बनाउनका लागि नागरिकलाई उत्पादनसँग जोड्ने अवधारणा ल्याउनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारको औचित्यमाथि प्रश्न नउठ्नेगरी काम गर्न आवश्यक रहेको बताउनुभयो । “बदर मतपत्रमा प्रदेश सरकार खारेजीको माग गरिएको, मत जाहेर नगरी बाकसमा खसालेको जस्ता कुरा सुनिए, प्रदेश सरकारले आर्थिक भार बढायो भन्नेसमेत छ, तर नागरिकलाई उत्पादनसँग जोड्नसके प्रदेश सरकार सक्षम बनाउन सकिन्छ”, शेरचनले भन्नुभयो, “प्रदेश सरकारले सङ्घ र स्थानीय तहको समन्वयकारी भूमिका बढाउँदै नागरिकको आम्दानी बढाउनसक्ने योजना ल्याउनसके प्रदेश सरकार बलियो र समृद्ध बन्नेछ