सङ्खुवासभाको प्रतिनिधिसभामा सत्ता गठबन्धन दलले जितेको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन दल नेपाली कांग्रेसका दीपक खड्का र प्रदेशसभा (१)मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाका उम्मेदवार खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ हजार सात सय १९ मत प्राप्त गर्नुभएको छ । खड्काले पाँच हजार चार सय ३९ मतान्तरले विजयी हुनुभएको हो । विसं २०७० को निर्वाचनमा खड्काले एमालेका गौतमलाई पराजित गर्नुभएको थियो । कांग्रेसका खड्का र एमालेका गौतमबीच यो तेस्रो भीडन्त हो । खड्का कांग्रेस सङ्खुवासभाका जिल्ला सभापतिसमेत हुनुहुन्छ । जिल्लामा प्रतिनिधिसभातर्फ ६५ हजार तीन सय ३७ मत खसेको थियो । त्यसमध्ये दुई हजार सात सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा दुई स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी दिएका थिए । प्रदेशसभा (१)मा माओवादी विजयी प्रदेशसभा (१)मा माओवादी केन्द्र कार्कीले १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित हुनुभएको छ । कार्की ३४ मतान्तरले विजयी हुनुभएको छ । उहाँ निकटतम् प्रतिद्वन्द्वी एमालेका भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याउनुभएको छ । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१)मा ३१ हजार पाँच सय चार मत खसेको थियो । प्रदेशसभामा २०६४ र २०७४ मा माओवादी र २०७० मा कांग्रेसले जितेको थियो । यस निर्वाचनसहित माओवादी केन्द्रले तेस्रोपटक प्रदेशसभा (१)मा जितेको छ । प्रदेशसभा(२) एमाले विजयी प्रदेशसभा(२) मा सदस्यमा नेकपा (एमाले)का विदुरकुमार लिङ्थेप निर्वाचित हुनुभएको छ । एमालेका लिङ्थेपले १५ हजार चार सय ८२ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का सरिता थापाले १५ हजार दुई सय ४२ मत ल्याउनुभएको छ । एमालेका लिङ्थेप दुई सय ४० मतान्तरले विजयी हुनुभएको हो । विजयी लिङ्थेप मादी नगरपालिकाका निवर्तमान प्रमुख हुनुहुन्थ्यो । गठबन्धनको साथ पाउनु भएका थापा यसअघि समानुपातिकबाट प्रदेशसभा सदस्य भई सामाजिक विकास समिति सभापति भइसक्नुभएको छ । एमालेका लिङ्थेप र समाजवादीकी थापा पूर्वसहकर्मीसमेत हुनुहुन्छ । प्रदेशसभा(२)मा ३४ हजार मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित आठ जनाको उम्मेदवारी परेको थियो ।