नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद रहनुभएका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्न लाग्नु भएको हो । बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई भारी मतान्तरले पराजित गर्नुभएको हो । चौधरीले २९ हजार चार सय ९५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार तीन सय आठ मत प्राप्त गर्नुभयो । विसं २०१२ वैशाख १ गते जन्मनु भएका चौधरी काठमाडौँ महानगरपालिका–१४ का बासिन्दा हुनुहुन्छ । करिब पाँच दशकदेखि उद्योग व्यवसायमा समर्पित रहनुभएका उहाँ विगत डेढ दशकदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ । चौधरी २०६४ सालको संविधानसभा निर्वाचन अघि तत्कालीन नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो । दल प्रवेश गरेसँगै उहाँ संविधानसभा सदस्य बन्नुभएको थियो । नेकपा एमालेबाट समानुपातिक सभासद बन्नुभएका चौधरी संविधानसभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फ नै उम्मेदवारका आकाङ्क्षी रहनुभए पनि उहाँले चुनाव लड्नु भएन ।