ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा आवश्यक कागजात नभएका तथा सडकमा गुडाउनका लागि उपयुक्त नभएका सवारीसाधनलाई धमाधम नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँका विभिन्न स्थानबाट सञ्चालनका लागि राम्रो अवस्था नभएका सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही लागि यातायात कार्यालयलाई पठाएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार हालसम्म तीन सय ५२ सवारीसाधन नियन्त्रणमा लिई कारबाहीका लागि विभागअन्तर्गत कार्यालयमा पठाइएको छ । सडकमा सञ्चालनका लागि उपयुक्त नभएका सबै प्रकारका सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि पठाउने गरिएको छ । “आवश्यक कागजपत्र नभएका र ‘कन्डिसन’ ठीक नभएका सवारीसाधन नियन्त्रणमा लिएर यातायात कार्यालयलाई कारबाहीका लागि पठाउने गरेका छौँ, दसैँअघि देखिने यो कार्य भइरहेको छ”, प्रवक्ता भट्टले भन्नुभयो । ट्राफिक प्रहरी कार्यालयले आज मात्रै १८ सवारीसाधन नियन्त्रणमा लिएको छ । ट्राफिकले आज बिहान केही सङ्ख्यामा ग्यासबाट चल्ने निलो माइक्रो नियन्त्रणमा लिएको थियो । आवश्यक कागजपत्र नभएका र कन्डिसन ठीक नभएका माइक्रो नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ । यसरी माइक्रो नियन्त्रणमा लिएको विरोधमा चालकहरूले सिंहदरबारको मुख्य प्रवेशद्वार अघिल्तिरको सडकपेटीमा माइक्रो राखेर विरोध गरेका छन् । निलो रङ्गका दर्जन बढी सवारीसाधन सांकेतिक विरोधस्वरुप सडकपेटीमा प्रदर्शन गरेका हुन् ।