महोत्तरी जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ को (१) र (२) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार आज बिहान आएको मतगणनाको अन्तिम परिणामअनुसार ३(१) मा लोसपाका नेता अभिराम शर्मा विजयी हुनुभएको छ भने ३(२) मा लोसपाकै नेत्री रानीकुमार तिवारी विजयी हुनुभएको छ । ३(१) मा लोसपाका शर्माले नौ हजार आठ सय ९२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका दिपेन्द्र झाले नौ हजार सात सय १८ मत प्राप्त गर्नुभएको छ । लोसपा नेता अभिराम शर्मा यस क्षेत्रबाट यसअघि पनि प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । त्यसैगरी ३(२) मा लोसपाकै तिवारीले छ हजार चार सय १४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार उज्ज्वलकुमार झाले पाँच हजार चार सय ८९ मत प्राप्त गर्नुभएको छ । तिवारीले झालाई नौ सय २५ मतले पराजित गर्नुभएको छ । तिवारी पनि यस क्षेत्रबाट पुनः प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो । —