संसद्कै ठूलो कम्युनिष्ट पार्टी नेकपा(एमाले)बाट अलग भइ गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल छैटौँ पटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । उहाँ रौतहट क्षेत्र नं १ बाट ३३ हजार पाँच सय २२ मत ल्याई निकटतम प्रतिद्वन्द्वी एमालेकै अजयकुमार गुप्तालाई फराकिलो मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । नेपाली कांग्रेसले नेतृत्व गरेको वर्तमान लोकतान्त्रिक वाम गठबन्धनबाट सरकारको एक घटक एकीकृत समाजवादीका नेता नेपाल सोही गठबन्धनका सहयोगमा प्रतिनिधिसभामा पुग्न सफल हुनुभएको छ । यसअघि विसं २०४८ देखि २०५६ सम्म राष्ट्रियसभा सदस्य तथा प्रमुख विपक्षी दलका नेता रहनुभएका नेपाल विसं २०५६, २०६५, २०७० र २०७४ मा पनि प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँले विसं २०५० सालदेखि २०६५ वैशाखसम्म नेकपा (एमाले) महासचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । विसं २०६६ जेठदेखि २०६७ माघसम्म प्रधानमन्त्री हुनुभएका अध्यक्ष नेपाल त्यसअघि एमालेका अध्यक्ष मनमोहन अधिकारीका नेतृत्वमा रहेको मन्त्रिमण्डलमा विसं २०५१ मङ्सिरदेखि २०५२ भदौसम्म परराष्ट्र र रक्षामन्त्रालयको कार्यभारसहित उपप्रधानमन्त्री हुनुहुन्थ्यो । विसं २०२२ देखि वामपन्थी विद्यार्थी सङ्गठनबाट राजनीतिमा संलग्न हुनुभएका उहाँ विसं २०२६ मा नेकपा(पुष्पलाल समूह)मा आवद्ध हुनुभयो । उहाँसँग नेकपा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव पनि छ । ‘नेपाल अधिराज्यको संविधान २०४७’ संविधान सुझाव आयोगका सदस्य तथा संविधानसभा, संवैधानिक समितिका सभापति भएर उहाँले काम गर्नुभयो । पिता मङ्गलकुमार र माता दुर्गादेवी उपाध्यायका कोखबाट विसं २००९ फागुन २३ गते रौतहटमा जन्म भई राजनीतिक आन्दोलनका क्रममा १६ वर्ष भूमिगत तथा पटक–पटक गरी दुई वर्ष ६ महिना बन्दी जीवन बिताउनुभएका नेता नेपाल शाही शासनकालमा घरमै नजरबन्द हुनुभएको थियो ।