७ मंसिर, कैलाली ।
क्षेत्र नं ३ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यसअघि यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भइसकेका छन् ।
कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाल अर्यालअनुसार प्रदेशसभातर्फको ३ (१) मा घनश्याम चौधरी १३ हजार नौ सय २३ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेमराज डंगौरा थारुले ११ हजार पाँच सय ७२ मत पाउनुभयो ।
प्रदेशसभातर्फको ३ (२) मा खुशीराम चौधरी सात हजार पाँच सय ३९ मतले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का अमर साउँद छ हजार छ सय १९ मत ल्याउनुभएको हो । एक लाख सात हजार छ सय ५९ मतदाता सङ्ख्या रहेको सो क्षेत्रमा कूल ६३ हजार चार सय ४० मत खसेको थियो ।